हातमा कलम र टेबुलमा खाली कागत लिएर, म बस्छु मैले सोचेको छु कि, मन भरिको भडासले आज त्यो पाना भर्छु मैले सोचेको छु कि आज म धेरै पछि मन खोलेर लेख्छु मेरो हराएको आवाज लाई आज म चिच्याएर खोल्छु
बिस्तारै कागतमा म कलमले कोर्न थाल्छु
कलमको कालो मसी सर्वत्र लतपत हुन थाल्छ
कलम आफ्से आफ दोडिन थाल्छ
पाना कालो हुने गरि कोर्न थाल्छ
र कलमले मलाई सुटुक्क भन्छ
‘भाइ तेरो भविष्यको बारे लेख,
यो कालो अन्धकार लाई हेर,
यो तेरो भविष्य हो ।’
म कालो गज्याङ् मज्याङ् कोरिएको पानालाई सरक्क च्यात्छु
गुटुमुटु पारेर रद्दीको टोकरीमा हाल्छु
म नयाँ पाना पल्टाउछु,
र फरि हातमा कलम लिएर पानाको नजिक लान्छु
मेरो हात अरिमट्ठ पर्छ,
कलमले पाना छुन मान्दैन,
र खाली पाना म सङ्ग बोल्न थाल्छ
‘बाबु आज आफ्नो संसारको बारे लेख,
म पुरै खाली छु, मलाई हेर्
ठिक तेरो संसार जस्तै ।’
म त्यो खाली पाना आवेगमा च्यात्छु,
गुटुमुटु पार्छु र रद्दीको टोकरी तिर फाल्छु
मेरो रक्तसञ्चार एक्कासी तिव्र हुन्छ
मलाई मेरै अन्तर्हृदयको कोलाहलले सताउन थाल्छ
म आफैँ बाट टाढा भाग्न खोज्छु
म थर थर काँपी रहेको मेरो शरिरलाई जुरुक्क उठाउँछु
मेरा भिजेका आँखाहरूलाई चारै तिर घुमाउँछु
मेरो आँखा रद्दीको टोकरीमा मैले भर्खरै फालेका कागत हरू सँग जुध्छ
उनिहरूले मलाई गिज्याइ रहेका छन्
भन्छन् ‘साथी, हामी लाई त फाँकीस्
तर तँलाई थहा छ, तँ पनि फाँक्किएको छस्
आइज कलम बन्द गर,
हामी सँग बस्,
दुःख सुख साटौँला
तँलाई पनि थहा छ, तँ यँही बस्न लायकको छस् ।’
अनु, २०२५- मे- ०४