मैले ‘ म ’लाई भेट्टाउन सकिन

 आज बिहान म सबेरै उठें 

उठेर सिरानी पल्टाएँ 

खाटमुनि हेरेँ 

ढोका पछाडि हेरें 

पाइन्टको खल्तीमा हेरें 

कोटको गोजीमा हेरें

ब्यागको पाकेटमा हेरें

थोत्रो पर्समा हेरेँ 

पर्दा पछि, ऐना भित्र चारै तिर हेरेँ 

तर मैले ‘ म ’लाई भेट्टाउन सकिन


वालेट मा कुच्चिएको पुरानो फोटो भेटे

किताबमा लुकेको २ रुपैयाँको पुरानो नोट भेटेँ 

ऐना पछाडि लुकेर बसेको मेरो मुखाकृती भेटेँ 

तर मैले म लाई भेट्टाउन सकिन


कम्प्युटरका फोल्डर र फाइलहरू भित्र भित्र हेरेँ 

चोक चोक र गल्ली गल्ली चहार्दै हेरें 

ओछ्यानमा लखातरान भएर, सिलिङ्ग तिर फर्केर हेरेँ 

तर कतै पनि, मैले ‘ म ’लाई भेट्टाउन सकिन


भीडमा, एकान्तमा

क्याफेमा, भट्टीमा

लाइब्रेरीमा, हाटबजारमा 

मानिसहरूका अनुहारमा

दिन रात, यत्र तत्र सर्वत्र सबै तिर हेरेँ 

तर मैले ‘ म ’लाई भेट्टाउन सकिन।


मैले दुःख भेटेँ, चोट भेटेँ

प्रेम भेटेँ, धोका भेटेँ

आशा भेटेँ, आँशु भेटेँ

यदा कदा हासोँ, खुसी र उल्लास पनि भेटेँ

दशकौं भइसक्यो खोजेको

तर मैले ‘ म ’लाई भेट्टाउन सकिन ।


अनु

२०८२ असार २६

रिडर्स हब क्याफे; खरिबोट, टोखा, काठमाडौँ


Previous Post Next Post

Contact Form