हे ईश्वर,
एक दिन तेरो साम्राज्य ढल्ने छ,
खरानी बनाइ तेरा प्रतिमा हरू
तेरो स्वर्ग, नरक जसरी हुरहुरती बल्ने छ ।
हे ईश्वर,
एक दिन तेरो साम्राज्य ढल्ने छ,
तेरा दरबारका भित्ताहरूमा, तेरा कुकर्मका मसी पोतिनेछन् ।
तेरा पानीका धाराहरूमा
तैँले हत्या गरेका बिचराहरूका रगतको भेल बग्ने छ ।
तैँले दासी बनाएका ती अप्सराहरूले तेरो चीरहरण गर्ने छन्
तैँले पातालमा दबाएका ती असुरहरूले, तँलाई दफन् गर्ने छन् ।।
हे ईश्वर,
एक दिन तेरो साम्राज्य ढल्ने छ,
खरानी बनाइ तेरा प्रतिमा हरू
तेरो स्वर्ग, नरक जसरी हुरहुरती बल्ने छ ।
हे ईश्वर,
एक दिन तेरो साम्राज्य ढल्ने छ,
तेरो पिँजडामा बन्दी भएका ती कैदीले तब न्याय पाउने छन्
तैँले साङ्लाले बाधेका ती बँधुवाहरूले तब मुक्ति पाउने छन्
तेरो शिर माथिको निलो नभ तब रक्ताम्मे हुने छ
र तेरो सूर्य अस्ताउने छ,
अनि फेरी,
पूर्व तिरको क्षितिज रातो भएर
नयाँ सूर्य उदाउने छ
तेरो संसार नष्ट हुनेछ
र नयाँ संसार बन्ने छ।
हे ईश्वर,
एक दिन तेरो साम्राज्य अवश्य ढल्ने छ,
खरानी बनाइ तेरा प्रतिमा हरू
तेरो स्वर्ग, नरक जसरी हुरहुरती बल्ने छ ।

२०७९-१०-२२
Tags:
Poem